धानमा किराको प्रकोप

धादिङको थाक्रे गाउँपालिका–११, बालुवाफाँटका बासु अधिकारीले लगाएको धानमा किराको प्रकोप फैलिएपछि चिन्तित छन् । धान पाक्ने बेला किराको प्रकोप देखिएपछि दुःख गरेर लगाएको खेती माटोमा मिसिएको छ । चार रोपनी जग्गामा लगाएको धान सबै नष्ट भएको अधिकारीले बताए।


‘मरिमेटेर दुःख गरियो, भरिलो दाना फल्ने बेलामा किराको प्रकोप फैलियो,’ अधिकारीले भने, ‘पुतलीजस्तो किराले धानको बोटको डाठमा चुस्ने र रस चुसेर पराल नै बनाएको छ।’ चार रोपनी जग्गामा लगाएको धानबालीमा फूल फूल्न लागेका बेला किराको प्रकोप फैलिएपछि उनी चिन्तित छन्।


चुसाहा रोगको प्रकोपले धानमा क्षति पु¥याएपछि किसान मर्कामा परेका छन् । धेरै आम्दानीको आशमा किसानले हाइब्रिड जातको धान खेती गरेका थिए । ‘दुःख गरेर लगाएको धानबाली भित्र्याउने बेला रोगले नष्ट गरेको छ,’ अधिकारीले भने, ‘वर्षभरी खाने धान सबै सखाप भयो, अब परिवार कसरी पाल्नु?’


पाक्ने बेलाको धानमा किराको प्रकोप देखिएपछि अधिकारी मात्र होइन जिल्लाको थाक्रे गाउँपालिकाका किसान चिन्तित छन् । मानो लगाएर मुरी उब्जाउने बेला धानबालीमा महामारी नै फैलिएको छ । थाक्रे गाउँपालिका–११, को बालुवाफाँट, बरुवालटार, मान्खुटार लगायत क्षेत्रमा लगाइएको ७० रोपनीभन्दा बढी धानमा प्रकोप देखिएको छ । त्यसमध्ये ३० रोपनीमा लगाइएको धानबाली नष्ट भएका छन् । विशेषगरी थाक्रे ११ को बालुवाफाँट र बरुवालटारमा बढी क्षति गरेको छ । यी क्षेत्रका धानबाली किराले सखाप नै पारिदिएको छ।


धानमा किराको प्रकोप देखिएपछि खाद्यान्नको जोहो गर्न कठिन हुने थाक्रे–११ का किसान इश्वर रुपाखेतीले बताए । ‘हामी किसान आफैंले किनेर लगाएको हाइब्रिड जातको धानमा प्रकोप देखिएको हो,’ रुपाखेतीले भने, ‘वर्षभरीको मेहनत माटोमा मिसिएको छ, दुःख गरेर लगायो, प्रतिफल सून्य देखिएको छ ।’ रोपेको समयमा राम्रो भएपनि जब फूल फूलेर पाक्ने बेलामा किराको प्रकोप देखिएको किसानको भनाइ छ।


यस क्षेत्रमा एक रोपनीमा चार क्विन्टलभन्दा बढी धान फल्ने गरेको थियो । ७० रोपनीमा दुई सय ८० क्विन्टलभन्दा बढी धान नष्ट भएको थाक्रे गाउँपालिका–११ का वडाध्यक्ष रविप्रकाश ओझाले बताए । ‘वडाभित्रमा करिब सात सय रोपनीभन्दा बढी क्षेत्रफलमा धान लगाइएको छ,’ ओझाले भने, ‘अन्य ठाउँमा लगाइएको धानमा प्रकोप फैलिन नदिन विषादी छर्कने कार्य भइरहेको छ।’


प्रकोप फैलन नदिन तत्कालका लागि किरा मार्ने औषधि हालिएको छ । सम्भावित प्रकोप रोक्न डेल्टामेथिन र ट्राइजोफोस साकाल नामक विषादी, बोसिन भन्ने किटनाषक औषधि र फ्लोरिक एसिडयुक्त भिटामिन फ्लावरबुस्ट ६० जना किसानलाई वितरण गरिएको छ।




किसानलाई धान काटन चटारो


भक्तपुर – किसानको जिल्ला भनेर चिनिने भक्तपुरे किसानलाई दसैं नसकिँदै धान काट्न चटारो परेको छ। उनीहरु सपरिवार धान काट्न जुटेका छन् । यतिबेला सबैतिर खेतमा किसान धान काट्न व्यस्त देखिन्छन्।


किसान राजन लवजूले दसैं नसकिँदै धरै किसानलाई धान काट्न चटारो परेको सुनाए । ‘हुन त दसैंअघि नै फाटफुट धान काटन सुरु भएको थियो,’ उनले भने, ‘दसैंको विजया दशमीको टिका सकिएसँंगै भने धान काट्न भ्याइनभ्याइ छ।’


माना रोपेर मुरी फलाउने धान काट्न किसानका परिवार अन्य काम रोकेर धान काट्न जुटेका हुन् । भक्तपुरका दुइटा नगरपालिकामा प्रशस्त धान खेती हुन्छ । वस्ती विकास भइसकेकाले भक्तपुर र मध्यपुर थिमिमा खासै धान खेती गरिँदैन । चाँगुनारायण र सूर्यविनाक नगरपालिका क्षेत्रमा बढी धानखेती गरिन्छ।


आधुनिक मेसिनको विकाससँगै किसानलाई बिस्तारै सहज भने हुन थालेको छ । किसान कृष्णबहादुर मुस्याख्वले धान चुटेपछि केलाइरहनु (निफार्न) नपर्ने मेसिन आएकाले विगतका वर्षभन्दा यो वर्ष सजिलो भएको बताउँछन् । भक्तपुर नगरपालिकाले किसानका लागि यस्ता मेसिन उपलब्ध गराएको उनको भनाइ छ।


जिल्ला कृषि विकास कार्यालय भक्तपुरका अनुसार यो वर्ष जिल्लामा धान राम्रो उत्पादन हुने देखिन्छ । यो वर्ष कुनै रोगव्याधी नदेखिएकाले राम्रो धान उत्पादन हुने अपेक्षा गरिएको हो । भक्तपुरमा कुल १२ हजार सात सय ३८ मध्ये आठ हजार ७७ हेक्टर खेतीयोग्य जमिन रहेको छ।



Comments