तीब्र गतिमा आयात बढ्दै जाँदा चालू आर्थिक वर्षको दुई महिनामा मुलुकको शोधानान्तर घाटा २५ अर्ब ४५ करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९ अर्ब ५८ करोडले बढी हो । उच्च आयातसँगै मुलुकको बाह्य क्षेत्रमा अपेक्षित रुपमा सुधार नहुँदा मुलुकको भुक्तानी सन्तुलन ऋणात्मक बनेको हो । शोधनान्तर घाटामा रहँदा विशेषगरी विदेशी लगानी निरुत्साहित हुनुका साथै स्वदेशी मुद्रा प्रतिको विश्वास घटने अर्थविदहरु बताउँछन् । पेट्रोलियम पदार्थ, यातायातका साधन र औद्योगिक सामाग्रीको उच्च आयातका कारण २ महिनामै चालू खाता घाटा ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ अर्ब ८२ करोड रुपैयाँले बढी हो । चालू खाता घाटाको असरले अहिले विदेशी मुद्रा सञ्चिति घट्न थालेको छ । डलरको भाउ वृद्धिले नेपाली रुपैयाँमा गणना गर्दा बढेजस्तो देखिए पनि डलरमै राख्दा सञ्चिति घटेका केन्द्रीय बैंकले जनाएको छ । विदेशमा काम गर्न गएका नेपालीले पठाउने रेमिट्यान्स भने ३३ दशमलव ४ प्रतिशतले बढेर भदौ सम्ममा १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत असारको तुलनामा मूल्य वृद्धिदरमा पनि केही सुधार देखिएको छ । असारमा ४ दशमलव २ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर भदौमा ३ दशमलव ९ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।
Comments
Post a Comment