पीपीएलः विराटनगरद्वारा चितवनसामू १४६ रनको लक्ष्य [अपडेट]

पोखरा — विराटनगर टाइटन्सले नमस्ते पोखरा प्रमियर लिग क्रिकेटमा राउन्ड रोबिन लिगको अन्तिम खेलमा चितवन राइनोजलाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १४५ रन बनायो ।








मोहम्मद जयाद र सुनील धमलाले पहिलो विकेटमा ८७ रनको साझेदारी गरेपछी विराटनगरले चुनौतीपूर्ण स्कोर बनाएको हो। पाकिस्तानी खेलाडी जायदले लगातार तेस्रो अर्धशतक बनाउने क्रममा ५१ रन बनाए।

उनले ४७ बल खेली ६ चौका र २ छक्का प्रहार गरे। सुनीलले ४७ रन बनाउने क्रममा ४५ बल खेली ४ चौका हाने। प्रदीप ऐरी ११, एन्ड्र्यु सुविक्सन ४ र राजु रिजाल ६ रनमा आउट भए।

राजेश पुलामी मगर ३ बलमा ८ र पुष्प थापा ४ बलमा ११ रनमा अविजित रहे।

चितवन राइनोजको तर्फबाट स्मित पटेल र कप्तान पारस खड्काले २/२ तथा करण केसीले १ विकेट लिए।

चितवनले यस खेल जितेमा फाइनल पुग्ने सम्भावना रहन्छ। तर हारेमा टोली प्रतियोगिताबाटै बाहिरने छ। चितवनले यसअघिका ४ खेलमा २ मा विजय हात पारेको छ।

विराटनगरसँगको खेल जितेमा समान छ अंक भए पनि चितवनले एक्सपर्ट धनगढी ब्लुज, हुलास काठमाडौं रोयल्स र पोखरा पल्टनलाई उछिन्नेसम्भावना रहन्छ।

शनिबार बिहानको खेलमा पोखराले काठमाडौं माथि विजय हात पारेपछि विराटनगर सँगै बुटवल ब्लास्टर्स प्रतियोगिताबाट बाहिरिएको छ।

विराटनगरको ४ खेलमा दुई अंक मात्रै छ।

Comments