‘चंगा चेट’ ले निर्देशकलाई तनाव

काठमाडौँ — शुक्रबारदेखि ‘चंगा चेट’ रिलिज हुँदै गर्दा यसका निर्देशक दीपेन्द्र के खनालमा तनावको पारो पनि चढिरहेको छ  । रिलिजको पूर्वसन्ध्यामा कान्तिपुरसँगको कुराकानी क्रममा उनले दर्शक/समीक्षकको प्रतिक्रिया कस्तो आउला भन्ने सोचेर चिन्ता बढिरहेको सुनाए  ।


‘यो फिल्म बनाउन यत्रो धेरै मिहिनेत र दौडधुप गरिएको छ,’ उनले भने, ‘सक्नेसम्म राम्रो बनाएका छौं ।’

धेरैभन्दा धेरै दर्शकले फिल्म हेरिदिऊन् भन्ने उनको कामना छ, तर यति बेला रिलिज त्यति सहज देखिएको छैन । दसैं सुरुमै रिलिज भएका फिल्मले हल छोडेका छैनन, अरू फिल्म पनि रिलिज हुने तरखरमा छन् । ‘चंगा चेट’ लाई धेरैभन्दा धेरै हलमा रिलिज गर्न नसकिएला कि भन्ने पीर पनि रहेछ खनाललाई ।

‘त्यसो त यसअघि मेरै ‘पशुपतिप्रसाद’ र माधव (वाग्ले) दाइको ‘लुट’ ले पनि इनिसियल व्यापार गरेका थिएनन् । पछि बिस्तारै उकालो लागेका हुन्,’ उनले आफैंलाई सान्त्वना दिँदै थपे, ‘पर्वको माहोलमा दर्शकहरूले दिमाग खियाउनुपर्नेभन्दा हास्यरसकै फिल्म मन पराउने गर्छन् । ‘चंगा चेट’ परिवारको लागि मनोरञ्जनको परिकार हो । त्यही दृष्टिकोणले हेर्‍यो भने यो फिल्म एकदम बलियो बने जस्तो लाग्छ ।’

निर्माता वाग्लेलाई यो फिल्मको पटकथाले नै काउकुती लगाएको रहेछ । ‘मैले धेरै पटक हेरिसकें । जति बेला हेर्दा पनि यो फिल्मले हँसाएको छ,’ उनले भने, ‘मलाई हँसायो भनेपछि दर्शकलाई पनि पक्कै हँसाउनेछ ।’ उनी पछिल्लो पटक ‘छक्का पञ्जा’ हेरेर हाँसेका थिए रे । ‘त्यसपछि मलाई ‘छक्का पञ्जा २’ ले अलिअलि हँसायो । तर ‘छक्का पञ्जा ३’ हेर्दा हाँस उठ्दै उठेन,’ उनले खुलेर भने, “शत्रुगते’ ले पनि मलाई हँसाएन । ‘चंगा चेट’ को स्क्रिप्ट पढदा मलाई रवीन्द्र झा अभिनीत चरित्रले खुब हँसाएको थियो । फिल्म हेरेपछि चाहिँ मलाई सन्दीप क्षेत्रीले बढी हँसायो ।’

निर्देशक खनाललाई स्क्रिप्टको कमेडी ट्रिटमेन्टले सुरुआतमै लोभ्याएको रहेछ । ‘कमेडी ट्रिटमेन्ट एकदम मिठो तरिकाले आएको छ । हँसाउँदा हँसाउँदै एउटा मज्जाको कथा पनि बोकेकाले दर्शकलाई फिल्म रुचिकर नै हुन्छ होला,’ युवा लक्षित फिल्मबारे उनले भने ।

खनालका अनुसार, राजधानीमा बस्दै आएका तर घरभेटीको कचकचदेखि बेरोजगारीको पीडा र मायाप्रीतिको चक्करसम्म फसेका तीन युवाको संघर्षको कथा नै ‘चंगा’ उडाउने लट्टाई हो । यसमा सुनदेखि पैसासम्मका कुरा छन् । त्यसो त यही पैसाका लागि सुटिङ गर्ने क्रममा नक्कली नोटको अभियोगमा निर्माता वाग्ले प्रहरी फन्दामा समेत परेका थिए । ‘फिल्मको कथा र ममाथि परेको घटना झन्डै उस्तै छ,’ वाग्लेले भने ।

फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । आयुष्मान देशराज जोशी, रवीन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, प्रियंका कार्की, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, शिशिर वाङदेल, माओत्से गुरुङको अभिनय रहेको फिल्म पैसा हुने र नहुने बीच हुने संघर्ष, लडाइँ र झगडा हो ।

Comments