सरकारले दियो युवायुवतीलाई ‘डेटिङ’को सुविधा !

चीन र भारत जस्ता देश जनसंख्या बृद्धिको समस्या झेलिरहँदा केही मुलुकहरु भने घट्दो जनसंख्याका कारण चिन्तित छन् । सिंगापुर ती देशमध्ये एक हो जसले जनसंख्या बृद्धि गर्ने उद्धेश्यले सरकारीस्तरबाटै डेटिङ्को सुविधा दिइरहेको छ । स्पिड डेटिङको ट्रेन्ड विश्वभर लोकप्रिय बनेको छ । तर सिंगापुरमा भने सरकारले नै यसको लागि अनुदान दिईरहेका छन् । ताकी देशका युवायुवतीहरुलाई एक अर्कासंग भेटघाट गर्न बढी समय मिलोस् ।

कोही नयाँ साथी बनाउने उद्धेश्यले डेटिङमा जाने गर्छन् भने कोही आफ्नो मन मिल्ने व्यक्तिकै खोजीमा पनि जाने गरेका छन् । देशमा घट्दै गएको जन्मदर सुधार्नका लागि सिंगापुर सरकारले विभिन्न कदम उठाएको छ । डेटिङ् नाइटस्का साथै सरकारले जनतालाई करछुटको सुविधा र बच्चा जन्माए बापत बोनस र घर सुविधा दिने योजनाहरु समेत ल्याएका छन् ।

कतिपय विवाहित दम्पत्तिहरु बच्चा जन्माउन आईभीएफको मद्धत लिइरहेका छन् । र त्यसमा पनि सरकारले ५० प्रतिशत रकम अनुदान स्वरुप प्रदान गरिरहेको छ । सन्तान नभएका र कमजोर आर्थिक स्थितिका कारण आईभीएफको सुविधा लिन नसकेकालाई पनि सरकारको यो अनुदान बरदान सावित भएको छ । तर धेरै वर्षको प्रयास पछि पनि ठूलो सफलता भने हासिल हुन सकेको छैन ।

महिलाहरुले ढिला विवाह गर्नुृ र बढ्दो खर्च यसको प्रमुख कारण मानिन्छ । यहाँ महिलाहरुले नै उनीहरुका बृद्ध आमाबुवाको हेरचाह गरुन् भन्ने आशा गरिन्छ । यही कारणले गर्दा पनि जिम्मेवारी थपिनुले आईभीएफको अनुदान पाएकाहरु पनि दोस्रो बच्चा जन्माउन चाहँदैनन् । विशेषज्ञहरु भने अझै पनि सरकार समस्याको जड सम्म पुग्न नसकेको बताउँछन् । यहाँका करिव २० प्रतिशत युवा अविवाहित छन् ।

एक्लो जीवन विताउन चाहनेको दर सायद यहाँ सवैभन्दा अधिक छ । मानिसहरु आफ्नो इच्छा अनुसार स्वतन्त्र भई जीउन चाहनुका साथै आधुनिक जीवनशैलीको बढ्दो खर्च यसको सम्भावित कारण मानिएको छ ।

Comments