सर्लाहीमा नेकपा र कांग्रेस समर्थकबीच झडप, एकको मृत्यु http://bit.ly/2EZKjH4

सर्लाहीको रामनगरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एक जना कांग्रेस समर्थकको मृत्यु भएको छ । गोली प्रहारबाट चार जना समान्य घाइते भएका छन् । गोली प्रहारबाट रामनगर गाउँपालिका–४ बहुर्वाका ६० वर्षीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताउनुभयो । बिहान ८ बजे गोली प्रहारबाट महतोको घटनास्थलमा नै मृत्यु भएको हो । अन्य घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको छ । घटनास्थलमा अझै तनाव कायम रहेको प्रहरीले जनाएको छ । मध्याह्न १ बजेसम्म जिल्लाबाट गएको प्रहरी घनास्थलमा पुग्न सकेको छैन । ‘लामो समयदेखि गाउँमा विवाद थियो,’ प्रहरी उपरीक्षक पोखरेलले भन्नुभयो, ‘गाउँमा सोमबार पनि विवाद भएको थियो। गोली कसले किन चलायो अनुसन्धान भइरहेको छ ।’ उहाँले पुस्तैनी राजनीति विवादको क्रममा गोली चलेको हुन सक्ने बताउनुभयो । मृतक महतो रामनगर गाउँपालिका वडा नं. ४ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोका काका हुन् । वडा अध्यक्षमा कांग्रेसबाट महतो निर्वाचित भएपछि तत्कालीन माओवादी समर्थकसँग पटकपटक विवाद हुँदै आएको छ । सोमबार वडा अध्यक्ष महतोलाई हातपात समेत भएको थियो । नेपाली कांग्रेसका प्रदेश सांसद उपेन्द्र महतोका अनुसार मंगलबार बिहान नेकपाका कार्यकर्ताले घरमा घेरा हाली तोडफोड गर्नुको साथै गोली चलाएका थिए ।

Comments