कञ्चनपुर प्रकरण : प्रहरी अनुसन्धान अझै शुन्य http://bit.ly/2F3Eto7

कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको एक सय दिन पुग्न लाग्दा समेत प्रहरी अनुसन्धान अझै शुन्यमा छ । घटनाको अनुसन्धानका लागि प्रहरीले आवश्यक प्रमाण समेत जुटाउन सकेको छैन् । घटना भएको ९८ औँ दिन सम्ममा अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्पेक्टर जगदिश भट्टलाई सेवाबाट बर्खास्त गर्नु बाहेक अन्य कुनै उपलब्धी हासिल हुन सकेको छैन । तर बर्खास्त गरिएका प्रहरी अधिकृत माथि थप कारबाही नभएको भन्दै कञ्चनपुरबासी पुन: आन्दोलित भएका छन् । किशोरीको बलात्कारपछि हत्या घटनामा हेलचक्राइँ गरेको आरोपमा निलम्बनमा परेका अन्य ६ जना प्रहरी अधिकृतमाथि कुनै कारबाही भएको छैन ।  विष्ट र भट्टलाई सेवाबाट बर्खास्त गरिएपनि थप कारबाही नभएको भन्दै कञ्चनपुरबासीले हिजो प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाएका छन् । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी भने विष्ट र भट्टलाई थप कारबाही हुने दाबी गर्नुहुन्छ । रेडियो कान्तिपुरसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘उनीहरुलाई थप कारबाहीका लागि अनुसन्धानमा लापरबाही गरेको प्रमाण आवश्यक पर्छ । प्रहरी प्रधान कार्यालयले गठन गरेको अनुसन्धान समिति सोही प्रमाण जुटाउन लागिपरेको छ ।’  किशोरीको बलात्कारपछि हत्या घटनामा हेलचक्राँई गरेको आरोपमा निलम्वनमा परेका अन्य ६ जना प्रहरी अधिकृतमाथि कुनै कारबाही भएको छैन । उनीहरुको कारबाहीमा भने हेडक्वार्टस गुपचुप छ । प्रहरी प्रवक्ता एसएसपी सुवेदी भने उनीहरुमाथि सुश्म अनुसन्धान भइरहेको बताउनुहुन्छ । कञ्चनपुर प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न र प्रहरी अधिकृतमाथि कारबाही गर्न प्रहरी प्रधाान कार्यालयले एआईजी धिरु बस्न्यातको नेतृत्वमा ९ सदस्यीय छानविन समिति गठन गरेको छ  ।  एसएसपी सुवेदीले निलम्बित डीएसपीद्वय ज्ञानबहादुर सेठी र अंगुर जिसी, इस्पेक्टर एकेन्द्र खड्का, सई हरसिंह धामी, असई रमासिंह धामी तथा जवान चाँदनी साउदबारे समितिले अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो चरणमा विष्ट र भट्ट निष्कासनमा परे अब ६ जनामाथि अनुसन्धान जारी छ । उनीहरु दोषी पाइए कारबाही हुन्छ ।’ सह–सचिव हरिप्रसाद मैनाली नेतृत्वमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले पनि अनुसन्धानमा खटिएका प्रहरीले पदीय जिम्मेवारी अनुरुप भूमिका निर्वाह नगरेको, घटनापछिको अनुसन्धानका क्रममा श्रृंखलापद्ध त्रुटि गरेको र प्रमाणहरु नष्ट गरेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेको थियो । भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा गत साउन ११ गते बालिकाको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो  ।

Comments