विदेशीले बौद्धनाथको गेट बाहिरको भिडियो सेयर गर्दा छाती पोल्दैन भने नेपाली भनेर के गर्व गर्नु ?



१५ कार्तिक,काठमाडौं- नजानेको कि, नगरेको भन्ने दुविधामा छु । सामाजिक सञ्जालमा एक विदेशी पर्यटकले राखेको एउटा भिडियाको बारेमा केहि बोल्न मन छ । बौद्ध गेटको ठ्याक्कै अगाडि, बाटोको यो अवस्था, थ्याङस गड पानी परेको छैन, नत्र त्यहाँ जानेबारे सोच्न पनि सकिदैन । यो प्रवेशद्धार हो, युनेस्को हेरिटेज, विश्वसम्पदाको । यी तारहरु हेर्नुहोस्, पार्किङ छैन, नियम, कानुन छैन । एउटा विदेशीले हाम्रो हालतलाई लिएर मजाक बनायो ।

विश्व सम्पदा सुचिमा रहेको बौद्धको जुन दृश्य ति विदेशीले सेयर गरे, त्यो उनका लागि अचम्म, उल्का तीन छक पर्ने भएपनि हाम्रा लागि चाँहि यो अझ अलिकती हेर्नहुने अवस्थाको हो । प्रत्येक दिन यो दृश्य देख्ने बौद्धका सामाजिक अभियान्ता, निर्वाचित जनप्रतिनिधिहरुलाई लाज नलागेको देखेर आँफैलाई लाज लागिसक्यो । विश्वमा यहि इमेज शेयर गर्न खोजेका हौँ हामीले ? तारका यी गुजुल्टा, हिलो धुलो खाल्डोको नारकिय संगम टुलुटुलु हेरेर मात्रै बस्ने हामी ? महानगरपालिका वडा स्थानीय क्लब, पर्यटन बोर्ड त्यस अन्तर्गतका समिति, टुरिष्ट सेन्टर कसैलाई कहि वास्ता भएको देखिन्छ ?

मनलाग्दी राखिएका होर्डिङ र्बोडहरु हेर्नुहोस् । जुन पसललेलाई जुनसुकै सामानको जुनसुकै कलर र डिजाइनको जुन मन लाग्छ त्यही साइजको होर्डिङ बोर्ड वा साइन राख्न छुट छ यहाँ । हामी यसलाई महानगरपालिका भन्छौँ, मेट्रो पोलिटिन सिटी । २०२० लाई नेपाल भ्रमण वर्ष मनाउँदै छौँ हामी । सडकको तार, अस्तव्यस्त, ट्राफिक व्यवस्थापन मनलाग्दी कागले विष्ट्याएको जस्तो साइनबोर्ड देखाएरै पर्यटक भित्राउने ? कि २०२० को जनवरी १ का दिन अटोमेटिक सबै काम सकिन्छ ?

सबै ठाँउका अस्त व्यस्ततालाई एकै पटक सम्बोधन गर्न सकिदैन थाहा छ, तर विश्व सम्पदा सुचिमा रहेका ठाँउहरु ऐतिहासिक धरोहरहरु र पर्यटक आकर्षित हुने हाम्रो मौलिक सम्पदा क्षेत्रको त विचार गराँै । एउटा विदेशीले बौद्धनाथको गेट बाहिरको भिडियो सेयर गर्दा छाती पोल्दैन भने त्यस्ताले नेपालको सन्तती भनेर के गर्व गर्नु ? पर्यटनमन्त्री माननिय रविन्द्र अधिकारी ज्यु ! भोली विहानको तपाईको मिटिङमा यो भिडियो बारे कुरा होस् । कमसेकम स्तुपा बौद्ध क्षेत्र अनि बौद्ध गेटैमा देखिएको यो लाजमर्दो भद्र्रगोललाई केहि दिनमा ठीक पार्न सक्ने हैसियतका मानिस तपाईको टिममा छैनन् भने २०२० को नेपाल भ्रमण वर्ष सारौँ वा क्यान्सिल गरौ ।

देशको बेइज्जतीले छाती दुख्दैन भने देशको झण्डा हल्लाएर गाडी हाक्दै नहिडौँ मन्त्री ज्यु ! यत्ति एउटा कुराले मेरो मुल्याङकन गर्छस् भन्नु होला । गर्छु, किन भने, यत्ति क्षेत्र सुधार्न २४ घण्टा पनि लाग्दैन भन्ने मलाई चाही थाहा छ । आइडिया छैन भने अधिकार दिनुस् र भोली तपाईले भनेको समयमा बौद्ध गेटमै भेटौँ । एउटा विदेशीले यो मुलुकको गौरव मानिने, भगवान गौतम बुद्धको आरधाना हुने पवित्र र स्तुपा बौद्ध प्रवेश गर्ने द्वारको बेइजतिपुर्ण भिडियो सेयर गर्दा मन अमिलो भएको छ । यो सुन्दर शहरलाई कुरुप पार्ने विभिन्न पसल, कन्सल्टेन्सी, तालिम केन्द्रहरुका होर्डिङबोर्डहरु एकै रातमा थुत्दै फाल्दै गर्न मिल्दैन ?

मन लागेको कलरमा ताल न सुरका डिजाइन र मनलाग्दी साइजका होर्डिङबोड राख्न पाइन्छ ? मापदण्ड छैन महानगरपालिकाको । यो कुरा सुन्दा, यो कति जान्ने भाको भन्ने पनि लाग्न सक्ला । तर म भन्छु, शहरको सुन्दरता, हरियाली, ट्राफिक व्यवस्थापन, पार्किङ, व्यवस्थित सार्वजनिक यातायात, सम्पदा संरक्षण, पर्यटक व्यवस्थापन, शान्ती सुरक्षा, ठाँउ ठाँउमा पिउने शुद्ध पानी, फोहरा फाल्ने विन, सार्वजनिक शौचालय जस्ता सामान्य कुरा जनतालाई सहज तरिकाले उपलब्ध गराउन नसक्ने मान्छे कुनै एंगलबाट पनि महानगरको मेयर हुन सुहाउँदैन, भाग्य पल्टेर मेयर भैहाले पनि रहर पुग्यो भनेर राजीनामा दिनु पर्छ, जाहे जो सुकैको सालो होस् ।


Comments