प्रदेश ३का मन्त्री केशव स्थापित बर्खास्त

हेटौडा– प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट हटाइएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रवार संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अन्तर्गत स्थापितलाई पदमुक्त गरेका हुन्। मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले स्थापितलाई पदमुक्त गरिएको पुष्टि गरे।


बर्खास्तीमा परेका मन्त्री स्थापितमाथि बुधबारको प्रदेश मन्त्रिपरिषद्को बैठकमै मुख्यमन्त्री पौडेललाई अपशब्द प्रयोग गरेर गाली गरेको आरोप लागेको थियो। मन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलका अनुसार स्थापितले मन्त्रीपरिष्द बैठकमा अभद्र व्यवहार प्रदर्शन गरेका कारण उनलाई बर्खास्त गरिएको हो।‘उहाँले मन्त्रिपरिषद्को गरीमा कायम नगरी अनुशासनहीन काम गरेकाले बर्खास्त गरिएको हो,’ पौडलले भने।


बुधबार बैठकको अन्तिममा मुख्य मन्त्री पौडेलले प्रदेशको भौतिक विकासको जिम्मेवारी सम्हालेका मन्त्री स्थापित र उनको मन्त्रालयको कामको गति सुस्त भएको भन्दै आलोचना गरेपछि विवाद सुरु भएको थियो ।
पौडेलका अनुसार तत्काललाई स्थापितले सम्हालेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हाल्नेछन्।


बुधबारको बैठकपछि स्थापितलाई हटाउने निश्कर्षमा पुगेका मूख्यमन्त्री पौडेल प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शका लागि राजधानी आएका थिए।

Comments