काँग्रेसको चियापन : १५ हजार कार्ड वितरण, पाहुनालाई खुवाउने यस्तो छ मेन्यु

काठमाडौं । नेपाली काँग्रेसले दशैं, तिहार, नेपाल सम्बत, छठ लगायतका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपा लगायत मुलकुभरका पार्टी कार्यालयमा जलपान कार्यक्रम आयोजना गर्दै छ ।

विगत बर्षमा केन्द्रीय कार्यालयमा मात्र चियापानको आयोजना गर्दै आएको काँग्रेसले यो वर्ष भने एकै दिन देशभर यो कार्यक्रम राखेको हो । शुक्रबार दिउँसो १ बजेबाट सुरु हुने चियापान सर्लाही जिल्लामा भने नहुने काँग्रेसलेजनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्लाहीमा भने आफ्ना कार्यकर्ता मारिएको भन्दै चियापान आयोजना नगरिएको बताए ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्लाका लागि सानेपास्थित केन्द्रीय कार्यालयमा हुने कार्याक्रममा पार्टीका नेता कार्यकर्ताबाहेक विभिन्न दलका नेता कार्यकर्ता, मन्त्री, सांसद, कुटनीतिक नियोग, ब्युरोक्रयाट्स, नेपाल आर्मी नेपाल प्रहरी, उद्योगपति एवं व्यवसायी, पेशागत एवम् बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैरआवासीय नेपालीका संघ–संस्थाका प्रमुखलगायतका विशिष्ट महानुभाव लगायतलाई १५ हजार कार्ड वितरण गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार वितरण भएका कार्डमध्य १० हजार चियापनमा सहभागी हुने काँग्रेसको अपेक्षा छ ।

चियापानमा काँग्रेसले आगन्तुकहरुलाई चिया, कफी, समोसा, निम्की र जेरी खुवाउने छ । ती खाद्य सामाग्री काँग्रेसले पार्टी कार्यालयस्थित क्यान्टिनमा तयार गरेको मुख्यसचिव पौडेलले बताए ।

काँग्रेसको चियापनमा प्रधानमन्त्री केपी शर्मा ओली भने अस्वस्थताका कारण चियापानमा सहभागी हुने छैनन् ।

तर,नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने चियापानमा दिउँसो २ बजेपछि सहभागी हुनेछन् ।

काँग्रेसले २०३३ सालमा नेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई नेपाल फर्केपछि ३५ सालबाट प्रत्येक वर्ष जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको छ । यस वर्ष पार्टी नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण पछि सारिएको हो ।

Comments