सिक्किम– नेपाली लोक रक ब्याण्ड नेपथ्यले भारतको सिक्किममा प्रस्तुति दिएको छ। उच्च हिमाली भुभाग राबाङमा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित प्रत्येक वर्ष हुँदै आएको ‘राबांग छो जो फेस्ट’ महोत्सवमा यसपटक नेपथ्यले प्रस्तुति दिएको हो।
कार्यक्रममा गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य व्याण्डले ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरि जाउँला’, ‘आँगनैभरि हिउँ नै झरे’, ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’, ‘चरि म-यो’, ‘जोमसोमे बजारमा’, ‘कोशीको पानी’, ‘रेशम’, ‘हिमालचुचुरे’, ‘तालको पानी’ र ‘मै नाचे छमछमी’ जस्ता गीतहरु प्रस्तुत गरेको थियो।
‘नेपाल र नेपालीहरु फैलिएको विश्वको जुनसुकै कुनामा प्रस्तुत गरिने कार्यक्रम आफ्नो निम्ति एकै किसिमको भएको र यी कार्यक्रमहरुमा भाषा, भातृत्व र हार्दिकताका सन्देशहरुमा जोड दिने गरेका छौं’, गायक गुरुङले भने।
तीन दिने उत्सवको उद्घाटन सिक्किमका मुख्यमन्त्री पवन चामलिङले शनिबार गरेका थिए। त्यसैको समापन मंगलबार राति नेपथ्यको कन्सर्टबाट भएको हो।
सँधैजस्तै सिक्किममा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
Comments
Post a Comment