यमपञ्चक सुरु : तिहारकाे पहिलो दिन कागपूजा गरिँदै, यस्ताे छ पाैराणिक एवं सामाजिक महत्व

काठमाडाैँ । आजबाट यमपञ्चक सुरु भएको छ । यमपञ्चकसँगै तिहार सुरु भएकाे हाे । तिहारको पहिलो दिन अाज घरघरमा कागको पूजा गरी मनाइँदै छ ।कागलाई सन्देशवाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ । आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन छ ।

यसरी दीपदान गर्नाले यम-यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ । कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मीस्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास समेत रहेकाे छ। तिहार ५ दिनसम्म मनाइने गरिन्छ, त्यसैले यसलार्इ यमपञ्चक पनि भनिएकाे हाे ।

पौराणिक महत्व एवं मिथक

धर्मशास्त्रका पौराणिक कथाअनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी ५ दिनसम्म बहिनीका घरमा गई रमाइलोसाथ दिन बिताएकाे स्मरणमा तिहार मानाउने चलन चलेकाे हाे । ती पाँच दिनलाई नै यकमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख छ । यसरी ५ दिनसम्म बहिनीकहाँ रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनीलाई मन ‘लागेकाे वर माग’ भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागेकाे मिथक पाइन्छ ।

बहिनीकाे साे इच्छालार्इ यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भएकाे कथा शास्त्रहरुमा वर्णन गरिएकाे पाइन्छ ।

सामाजिक/सांस्कृतिक महत्व

तिहार भातृ-भावनाकाे पर्व हाे । यसले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्ध दर्शाउँछ । तिहारको सांस्कृतिक पक्ष पनि राेचक छ । भारत तथा नेपाल कृषिप्रधान देश हुन् । यसबेला जब कृषकहरु आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्नरूपी सम्पत्ति घरमा भित्र्याउने गर्छन् र कामबाट फुर्सद समेत पाउँछन् तब उनीहरुमा खुशी एवं उमंगको सीमा हुँदैन । यही खुशीको अवसरमा समेत सबै भगवानको कृपा मानेर कृतज्ञता प्रकट गरी पूजाअाजा साथ चाडपर्व मनाएर रमाइलाे गर्छन् ।

ठूलाे चाड दशैं सकिएकाे पन्ध्र दिनपछि आउने तिहारमा पनि देवी दुर्गाका विभिन्न रुपहरूको पूजा-आराधना गरिन्छ । तिहारमा धनकी देवी लक्ष्मीको पूजा गरिन्छ, जसकाे अाशय घरमा अन्नपात र धनसम्पत्ती धेरै हाेस् भन्ने नै हाे । नेपालीहरुका लागि दशैँतिहार महत्वपूर्ण र प्रमुख चाड हुन् । तिहार दक्षिण एसियाका विशेषगरी भारत, नेपाल, भूटान र म्यानमार लगायतमा अाअाफ्नै प्रकारले मनाउने गरिन्छ ।

Comments