हामीले कसैको भलो गर्न नसके पनि कसैलाई दुःख दिनु हुँदैन: डा.भगवान कोइराला

१८ कार्तिक,काठमाडौं– मेरो जन्म पाल्पाको दरलम डाँडास्थित दरुङ्गा गाउँमा भएको हो। हामी करिब १० मिनेट पैदल हिँडेर विद्यालय जान्थ्यौं। निम्न माध्यमिक तहसम्म पढाइ हुने हाम्रो विद्यालयमा विषयगत शिक्षकको अभाव थियो। स्कुलका एकजना शिक्षक हाम्रै घरमा बस्नुहुन्थ्यो। त्यसकारण हाम्रो घरमा पढ्ने वातावरण थियो। हामी बिहान, बेलुका लालटिन बालेर हल्ला गर्दै पढ्थ्यौं। बुवाआमाले पनि पढपढ भनेर कराइरहनुहुन्थ्यो। म मेरा दौंतरीहरूभन्दा तुलनात्मक रूपमा सोझो र लजालु थिएँ। कुनै पनि कुरामा तत्कालै प्रतिक्रिया जनाइहाल्ने मेरो बानी थिएन। म प्रायः पढ्नमै व्यस्त हुन्थेँ। चकचक पनि गर्दिनथेँ।

दाइहरू डन्डिबियो खेल्नुहुन्थ्यो। म कहिलेकाहीँ साथीहरूसँग गुच्चा खेल्थेँ। तर, हाम्रो गाउँमा गुच्चा खेल्नेलाई कसैले पनि राम्रा आँखाले हेर्दैनथे। हामी करिब १५ मिनेट टाढाको पँधेराबाट नुवाइधुवाइ गरेर गाग्रामा पानी ओसाथ्र्यौं। स्कुलबाट फर्किएपछि गोरु चराउन लैजाने काम मेरो जिम्मामा थियो। म प्रायः कक्षामा प्रथम हुन्थेँ। कक्षा ९ र १० पाल्पा सदरमुकाम तानसेनमा बसेर पढेँ। स्वाभाविक रूपमा घर छाडेर आएपछि पढाइमा दिमाग लगाउन असजिलो हुन्छ। क्रमशः सहज हुँदै गयो। पछि काठमाडौं आएर पढ्न थालेपछि पनि यहाँको सहरिया वातावरणमा रमाएर पढ्न कठिन भएको थियो।

विस्तारै बानी पर्दै गयो। म हेल्थ असिस्टेन्ट हुँदै डाक्टरी सेवामा प्रवेश गरेको हुँ। मलाई स्वास्थ्य विषय पढ्न सुरु गर्दैदेखि मुटुसम्बन्धी जान्ने औधी इच्छा जागेको थियो। हाम्रो घरको आर्थिक अवस्था सामान्य थियो। खान खाँचो थिएन तर हामीलाई पढाउन भने ऋण नै खोज्नुपर्ने बाध्यता थियो। हिजोआज भाइबहिनीका हातमा संसारै अटाएको छ। कम्प्युटर, इन्टरनेटको सुविधा गाउँगाउँसम्म पुग्न थालेको छ। घरमै बसेर संसार हेर्न सकिने भएको छ। विद्यालयमा विषयगत शिक्षकले अध्यापन गराउँछन्।

गाउँका विद्यालयमा समेत समयमै किताब पाइन थालेका छन्। विज्ञान र प्रविधिले दिनानुदिन नयाँ आविष्कारसमेत दिइरहेका छन्। हामी प्रविधिसँग मितेरी लगाइरहेका भए पनि आधारभूत मानवीय गुण, चालचलन, बानीव्यहोरा, शुद्ध आचरण, खानपान र सरसफाइजस्ता सर्वमान्य कुरा सबैले जान्नैपर्छ। हामी जुनसुकै परिवार, समाज र देशमा जन्मिए पनि यी आधारभूत कुरा आवश्यक हुन्छन्। भाइबहिनीलाई मानवीय गुणसँग सम्बन्धित नीति शिक्षाको बारेका समेत जानकारी हुनुपर्छ। विगतमा नीति शिक्षालाई ज्यादै विवादित बनाइयो।

यसलाई कहिले राजनीतिसँग जोडियो त कहिले धर्मसँग जोडियो। सत्य बोल्नुपर्ने कुरालाई हामीले ज्यादै सतही रूपमा बुझ्ने गरेका छौं। कुनै पनि परिवारमा यसबारे नानीबाबुलाई बुझाउने गरिएको छैन। भविष्यमा व्यक्ति सफल वा असफल बन्ने कुरा उसको बोलीचालीमा समेत निर्भर गर्छ। ठूलाठूला मानिसलाई पनि विगतमा उनीहरूले बोलेको बोलीकै आधारमा आलोचना गर्ने गरिएको छ। हामीले कसैको भलो गर्न नसके पनि कसैलाई दुःख दिनु हुँदैन। लाभ र हानिका विषयमा मात्रै सोच्ने गर्नु हुँदैन। आफु प्रतिस्पर्धामा आउन र आफ्नो वृत्ति विकासका लागि पनि ध्यान नदिने भनेको होइन।

हाम्रो समाज आजको घिनलाग्दो अवस्थामा आइपुग्न राजनीतिले पनि मुख्य भूमिका खेलेको छ। राजनीति यो अवस्थामा आइपुग्न न्यूनतम मानवीय मूल्य मान्यताको अभाव भएरै हो। कतिपय भाइबहिनीको अन्याय सहेर पनि प्रतिक्रिया नजनाउने बानी हुन्छ। अन्याय र विभेदका विरुद्ध आवाज उठाउनुपर्छ। हामीले हरेक कुराको सकारात्मक पक्षका पछि मात्रै लाग्नुपर्छ। नजानेर गरिएका थुप्रै गल्तीहरूबाट पाठ सिक्नुपर्छ। गल्ती नदोहो¥याउनु नै ठूलो कुरा हो। सामाजिक हित र राष्ट्रहितले मात्रै हामीलाई सामाजिक बनाउँछ। आफ्नो मात्र दुनो सोझ्याउने बानी राम्रो होइन।

हामीले सानैदेखि स्वस्थ्य जीवनयापन र सरसफाइमा ध्यान दिनुपर्छ। यसले निरोगी रहन मद्दत गर्छ। बिरामी हुनु व्यक्तिगत समस्या मात्र होइन, परिवार र समाजका लागि भार पनि हो। भाइबहिनीले परिवारका सदस्यको अस्वस्थ्य जीवनशैलीलाई नियन्त्रण गर्नुपर्छ। कतिपय भाइबहिनीले आफ्ना अभिभावकलाई कुलतबाट हटाएका घटना पनि प्रशस्त सुन्न पाइन्छन्। कुटिल सोच्ने बानीले मानसिक रोगको सम्भावना बढ्छ। कुनै रोग लागिहाल्यो भने छिटो स्वास्थ्यसंस्था जाने बानी गर्नुपर्छ। (बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित) अन्नपूर्णपोष्टबाट

Comments