भूकम्पपीडितलाई २ प्रतिशतमा अनुदानको ऋण पाउने समय सकियो

काठमाडौँ । भूकम्पपीडितले अब २ प्रतिशत व्याजदरको ऋण नपाउने भएका छन् । एक महिनाअघि राष्ट्र बैंकले असोज मसान्तपछि सहुलियत दरको आवास कर्जा नदिने परिपत्र जारी गरेको थियो  ।
सोही निर्देशनका आधारमा कात्तिक एक गतेदेखि सहुलियत दरको आवास कर्जा औपचारिक रूपमै बन्द गरिएको बैंक तथा वित्तीय संस्थाहरूले जनाएका छन् । भूकम्प लगत्तै सरकारले काठमाडौं उपत्यकाभित्र २५ लाख र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्म ऋण दिने निर्णय गरेको थियो ।
भूकम्पले जनधनको क्षति गरेको विशेष अवस्थामा ल्याइएको सुविधालाई अब निरन्तरता दिन नसकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले असोजमसान्तपछि उक्त कार्यक्रम बन्द गर्ने जनाए पनि बैंक तथा वित्तीय संस्थाले असोज पहिलो सातादेखि नै ऋण दिन छाडेका थिए ।
०७२ वैशाखको विनासकारी भुकम्पले ठूलो मात्रामा जनधनको क्षति भएको थियो । मुलुकभर करिब ८ लाख घरपूर्ण रुपमा भत्किएका थिए । यसकारण पिडितको आवास निर्माणमा सहयोग र्पुयाउने उद्देश्यले २ प्रतिशत ब्याजदरमा काठमाडौं उपत्यका भित्र २५ लाख र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको थियो । पछि यो कार्यक्रमलाई सरकारले आफ्नो कार्यक्रममा समावेश गरेको थियो ।

२०७५ कात्तिक ०६ गते प्रकाशित

Comments